सुदूरपश्चिममा झण्डै २ लाख नयाँ मतदाता थपिए


धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का दिवश खड्काले चार महिनाअघि मतदाता नामावलीमा नाम दर्ता गराए। त्योसंगै उनले पहिलोपटक मतदानको अधिकार पाएका छन्।

तर २०७४ सालको निर्वाचनबाट विजयी जनप्रतिनिधिले व्यक्तिगत सम्पत्ति मात्र जोडेको उनको आरोप छ। ‘भोटिङ्ग कार्ड छ, चार महिना भयो बनाएको,’ उनले भने, ‘पहिलोपटक मतदान गर्ने तयारीमा छु। देशको हालत हेरेर मतदान गर्न खुसी छैन। जन्मेको ठाँउको कुनै विकास भएको छैन। रोड, बिजुली, खानेपानीमा अझै समस्या छ। शिक्षा र स्वास्थ्यमा समस्या छ।’

स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि भ्रष्टाचार गरेर व्याक्तिगत सम्पत्ति जोड्न केन्द्रित भएको आरोप पनि नयाँ मतदाताको छ। धनगढीको बोराडाँडीका प्रेमराज भट्ट पनि जनप्रतिनिधिप्रति सन्तुष्ट छैनन्। धनगढीको विकासका लागि २०७४ सालको निर्वाचनबाट विजयी जनप्रतिनिधिले भूमिका निर्वाह गर्न नसकेको उनको बुझाई छ। सडक, विद्यालय, अस्पताल लगायतका क्षेत्रको पाँच वर्षमा कुनै सुधार नभएको तर्क उनको छ।

२०७४ सालको निर्वाचनबाट विजयी जनप्रतिनिधिहरु विकास निर्माणमा असफल देखिएको भन्दै नयाँ मतदातामा वितृष्णा देखिएको हो। स्थानीय तहको निर्वाचनमा विजयी भएका नेताहरुले अन्य विकास निर्माणसँगै युवाहरुका लागि पनि योजना ल्याउनुपर्ने माग नयाँ मतदाताको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का दिपेश रोकामगरले खेलकुद क्षेत्रको विकासका लागि नयाँ जनप्रतिनिधिले योजना ल्याउनुपर्ने बताए। ‘पहिलो पटक भोट हाल्दैछु,’ उनले भने, ‘तर निर्वाचनले धेरै सुधार ल्याउछ होला भन्ने विश्वास छैन।’ सुदूरपश्चिम प्रदेशमा २०७४ सालमा १४ लाख ३५ हजार ६ सय ७४ मतदाता रहेकोमा अहिले मतदाताको संख्या १६ लाख ३२ हजार एक सय ५० पुगेको छ। प्रदेशमा एक लाख ९६ हजार ४ सय ७६ नयाँ मतदाता थपिएका छन्। झण्डै २ लाख नयाँ मतदाता प्रदेशमा थपिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0