सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्ल कांग्रेसबाट निष्कासित


डडेल्धुरा :  नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान पार्टी सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई कारबाही गरेको छ। मंगलबार कांग्रेस प्रदेशसभा सदस्य मल्लले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै सदस्यसमेत नरहने गरी हटाइएको हो।

‘नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहि) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्यसमेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ।’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।

विधान विपरीत मल्लले गरेका कामका विषयमा भने कारबाहीपत्रमा खुलाइएको छैन। तर, डडेल्धुरामा मल्ल समूह नेपाली कांग्रेस बिपीमा प्रवेश गर्दै एमालेसँग चुनावी तालमेल गरेको छ। एमाले र कांग्रेस बिपीले तालमेल गर्दै जिल्लाका सातै स्थानीय तहमा उम्मेदवारी दिइसकेका छन्।

मल्लकै पहलमा जिल्लामा एमालेले ४ र कांग्रेस बिपीले ३ पालिका पाएको छ। अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिका कांग्रेस बिपीले तथा नेकपा एमालेले परशुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएको छ।

कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशन तथा १४औं महाधिवेशनप्रति मल्ल समूह असन्तुष्ट थियो। जिल्ला अधिवेशन अवैधानिक ढंगले गरेको आरोप उनीहरूको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले अन्तिमसम्म पनि गृह जिल्लाको पार्टी मिलाउनमा चासो नदिएपछि आफूहरू कांग्रेस बिपीबाट स्थानीय तहको निर्वाचनमा जानुपरेको मल्ल समूहको भनाइ रहेकोछ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0