स्थानीय निर्वाचन २०७९ कालागी मनोनयन दर्ता आज र भोलि


अत्तरिया : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आइतवार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको समय तय गरेको छ । स्थानीय तह निर्वाचनका लागि प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा तोकिएका सबै प्रक्रिया पूरा गरेर उम्मेदवारी दर्ता गर्न सकिने आयोगले बताएको छ ।


सोमवार सम्म दर्ता भएका उम्मेदवारीबारे १३ गते दाबी विरोध वा उजुरी दर्ता गर्ने, १४ र १५ गते जाँचबुझ गर्ने र १७ गते निर्वाचन चिन्ह प्रदान गर्ने समय तोकिएको आयोगले जनाएको छ । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि आइतवार र सोमवार मनोनयन दर्ताको समय तोकिएको छ ।

निर्वाचन आयोगले बहालवाला जनप्रतिनिधिलाई उम्मेदवार बन्न राजीनामा गर्नुपर्ने आचार संहिता जारी गरेपछि कतिपय स्थानीय तहमा जनप्रतिनिधिहरूले राजीनामा गरेका छन ।

स्थानीय तह निर्वाचनका लागि गत चैत २५ बाट निर्वाचन आचार संहिता लागु भएको छ । आचार संहिताले निर्वाचन सम्पन्न नहुँदासम्म उम्मेदवार, राजनीतिक दल र सरकारलाई निर्वाचन प्रचार प्रसारमा सरकारी स्रोत साधनको परिचालन गर्न बन्देज गरिएको छ ।

आचारसंहितामा उम्मेदवारहरूले निर्वाचन परिचालनका लागि गर्न सक्ने खर्चको सीमा पनि तोकिएको छ । जसअनुसार सबैभन्दा धेरै महानगरपालिकाका प्रमुख वा उपप्रमुखका उम्मेदवारले ७ लाख ५० हजार रुपैयाँसम्म गर्न खर्च गर्न पाउँने व्यवस्था रहेको छ ।

गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्षका लागि त्यस्तो सीमा ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ । आचारसंहिता उल्लङ्घन भए निर्वाचन कसुर तथा सजाय ऐन अनुसार एक लाख रुपैयाँसम्म जरिबाना र कसुर अनुसारको कारबाही गर्न सक्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0