मोहन्याल गाउँपालिकाका अध्यक्षसहित १४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा


अत्तरिया : अख्तियार दुरूयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधिविरूद्ध भ्रष्टाचार मुद्दा लगाएको छ। गाउँपालिका अध्यक्ष स्वर्गीय नवलसिंह रावल, उपाध्यक्ष पूजादेवी बुढा मगर, वडाअध्यक्षहरू र प्रमुख प्रशासकीय अधिकृत तथा निर्माण व्यवसायीसमेत १४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा लगाइएको हो।

अख्तियारका अनुसार मोहन्याल गाउँपालिका भएर बग्ने खोलाको नदीजन्य पदार्थको बिक्रीकर संकलन सम्बन्धी सूचनाको आधारमा बोलपत्र बिक्री भएको थियो। तर मोहन्याल गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू बडिमालिका निर्माण सेवाका ठेकेदारबीच मिलेमतोमा सम्झौता भई भ्रष्टाचार भएको भन्ने उजुरी परेको र अनुसन्धान गर्दा पुष्टि भएपछि मुद्धा लगाइएको अख्तियारले जनाएको छ।

कार्यबाहक अध्यक्ष बुढामगर, वडा अध्यक्षहरु देवीदत्त उपाध्याय, नविन पुनमगर, खरप्रसाद अधिकारी, छविलाल हौजाली मगर, टेकबहादुर बोगटी, टिकाराम भण्डारी, नन्दराम गिरी, गाउँकार्यपालिका सदस्यहरु राधिका दमाई, तारा शर्मा र विशाल कुमार पहराईले भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको दाबी छ।

उनीहरुले गाउँकार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकदारलाई मिनाहा गरेको रकम र सो रकमको मूल्य अभिबृद्धि कर बापतको रकम गरी ५४ लाख १८ हजार ५६८ रुपैयाँ सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको देखिएको अख्तियारले जनाएको छ।

साथै न्यू बडिमालिका निर्माण सेवा र सञ्चालक मकरबहादुर शाहले पहिलो किस्ता बापतको कबोल अंक जम्मा नगरी सम्झौता गरेको, प्रमाणित राजस्व रसिद प्रयोग नगरी नदीजन्य पदार्थ संकलन गरेको पनि भेटिएको छ। शाहले ५६ लाख ३४८ रुपैयाँ सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लागेको छ।

मोहन्याल गाउँपालिका कैलालीका अध्यक्ष स्वर्गीय रावल समेतले गाउँ कार्यपालिकाबाट निर्णय गरी ठेकेदारलाई मिनाहा गरेको रकम र सो रकमको मूल्य अभिबृद्धि कर बापतको रकम गरी ५४ लाख १८ हजार ५६८ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।

रावलको मृत्यु भइसकेको भए पनि भ्रष्टाचार निवारण ऐन तथा मुलुकी फौजदारी कार्यविधि संहिता बमोजिम उनको हक खाने अंशियारबाट विगो असुलउपर गर्ने प्रयोजनका लागि मागदाबी गरिएको छ। यस्तै गाउँपालिकाका तत्कालीन प्रमुख प्रशाकीय अधिकृत गणेशदत्त ओझाले पनि सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको देखिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0