नेताहरु चुनावी प्रचारप्रसारमा, किसान गहुँ भित्र्याउन व्यस्त


धनगढी – कैलालीमा चुनावको प्रचारप्रसारका लागि राजनीतिक दलहरु गाउँघर पुग्न थालेका बेला किसान भने खेतीपातीको कार्यमा व्यस्त भएका छन् । दलहरु चुनावी प्रचारप्रसारमा लागेका बेला किसानलाई गहुँ भित्र्याउने चटारो छ । किसान विहानैदेखि खेतको काम व्यस्त छन्।

उनीहरु गहुँ काट्नका लागि विहानै खेतमा पुगिरहेका छन् ।‘गहुँ पाकेकाले अहिले किसानलाई कामैकाम छ । पटक्कै फुर्सद् छैन’, धनगढी उपमहानगरपलिका–९ बंगराका किसान सियाराम चौधरीले भने ।

‘हामी विहानै खेतमा जान्छौं । काममा ध्यान भएकोले अहिले चुनाव र दलका कार्यक्रमप्रति चासो छैन ।’ किसानहरु साँझ विहान खेतमै रहने गरेको उनले बताए । धान पछिको दोस्रो मुख्य बाली हो, गहुँ । खेतमा रहेको गहुँ तयार किसान धमाधम काट्ने, थ्रेसिङ गर्ने र भित्र्याउने कार्य गरिरहेका छन् ।

गत असोज–कात्तिकमा भएको बेमौसमी वर्षा र त्यसपछि आएको बाढीले यहाँ धानबालीलाई ठूलो नोक्सान गरेको थियो । प्राकृतिक विपद्मा धानबाली गुमाएको पीडा भुल्न नसकेका किसान तयार भएको गहुँबाली सकेसम्म चाँडै भित्र्याएर ढुक्क बस्ने पक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0