मेलम्ची नदीको पानी पुनः सुरुङमा पठाइयो


काठमाडौं – मेलम्ची नदीको पानी पुन पथान्तरन गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज १ नम्बर डाइभर्सन गेटबाट पानी पथान्तरन गरी ३८ नम्बर को गेट खोलेर उद्घाटन गर्नुभएको हो ।

मन्त्री चौधरीले प्रतिबद्धता अनुसार पानी पथान्तरन गर्न पाउँदा गर्व लागेको बताउनुभयो । उहाँले अबको केही दिनमै काठमाडौंबासीले खानेपानी पाउने बताउनुभयो ।

आज सुरुङमा प्रती सेकेन्ड २६५ लिटरका दरले पानी हालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेलले बताउनुभयो ।

गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्‍याएको थियो । सरकारले चैत मसान्तभित्र पानी काठमाडौँ ल्याउने घोषणा गरेको थियो । आज पानी पठाउन सुरु गरिएपनि काठमाडौँमा पानी आउन अझै दुई साताजति लाग्नसक्ने बताइएको छ।

गतवर्षको चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।

सुरुङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यही दिन मेलम्ची नदीमा बाढी आएसँगै मेलम्चीको पानी वितरण प्रक्रिया अवरुद्ध बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0