प्रदेशभरि नै तालमेलन गर्न गठबन्धन दल सकारात्मक


धनगढी– स्थानीय तहको आगामी निर्वाचनमा प्रदेश भरि नै चुनावी तालमेल गर्न गठबन्धन दल सकारात्मक देखिएका छन् । वडा तहदेखि नै तालमेल गरेर अगाडि बढ्ने गठबन्धन दल सकारात्मक देखिएका हुन ।

यद्यपि, चुनावी तालमेलका लागि निर्णय भएकै कञ्चनपुरको क्षेत्र नम्बर १ र तालमेलको निर्णयप्रति असन्तुष्टि पनि देखिएको छ । सत्ता साझेदार दलले केही जिल्लामा तालमेल गर्ने औपचारिक निर्णय नै गरिसकेका छन् । कैलालीमा पनि चुनावी तालमेल गर्ने गठबन्धन दलबीच सहमति भएको छ । आइतबार बसेको गठबन्धनको कार्यदलको बैठकले २०७४ सालको मतपरिणाम, संगठन संरचनाको प्रभाव, नयाँ घोषणापत्र लगायतलाई आधार मान्दै गठबन्धन गर्ने सहमति भएको हो ।

वडातहदेखि नै १३ वटै स्थानीय तहमा गठबन्धन गर्ने सहमति भएको नेपाली काँग्रेस कैलाली सचिव केशव मिश्रले जानकारी दिए । बैठकमा नेकपा एसले गोदावरी, गौरीगंगा, घोडाघोडी, लम्कीचुहा नगरपालिका र चुरे गाउँपालिकामा दाबी गरेको छ । नेकपा माओवादी केन्द्रले काँग्रेसको माग दाबीका आधारमा आफूहरुले स्थानीय तहमा दाबी गर्ने प्रतिक्रिया दिएको जनाइएको छ ।

यद्यपी माओवादी केन्द्रले २०७४ सालमा विजयी भएका दुई वटा स्थानीय तह नछोड्ने दाबी गरेको छ । २०७४ सालको निर्वाचनमा भजनी नगरपालिका र कैलारी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए । बैठकमा काँग्रेसले अहिलेसम्म १३ वटै स्थानीय तहमा आफनो दाबी रहने प्रतिक्रिया दिएको थियो । जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले स्थानीय तहमा कुनै दाबी नगरेका जनाइएको छ ।

यस्तै, प्रदेशको अछाम, डडेल्धुरा, कञ्चनपुरमा यसअघि नै गठबन्धन दलले चुनावी तालमेलको निर्णय गरेका छन् । जिल्लाहरुमा तालमेलको सहमतिसँगै नेतृत्व भागवण्डाको गृहकार्य सुरु भएको छ । गठबन्धनमा आवद्ध दलहरु तालमेल गरेर जानेमा सहमत देखिए पनि स्थानीय तहको नेतृत्वको भागवण्डामा सकस देखिएको छ ।

यहाँका कुनै पनि जिल्लामा गठबन्धनबीच नेतृत्वको भागवण्डा टुङ्गिएको छैन । कुन पालिकाको कसले लिने भन्ने अनौपचारिक छलफलहरु भइरहेका छन् । कतिपय ठाउँमा स्थानीय तहका कमिटीहरुले गठबन्धन नगरी उम्मेदवारी दिने निर्णयहरु गर्न थालेकाले नेतृत्व बाँडफाडको विषय पेचिलो बन्ने देखिएको छ ।

जिल्लामा तालमेलको सहमति भए पनि काँग्रेसका कतिपय तल्ला कमिटीले गठबन्धन नगर्ने निर्णयहरु सार्वजनिक गरेका छन् । कञ्चनपुरमा जिल्लामा वडा तहसम्मै गठबन्धन गर्ने सहमति छ । तर काँग्रेसको भीमदत्त नगर कमिटी र लालझाँडी गाउँपालिका कमिटीले गठबन्धन नगरेर एक्लै चुनावमा जाने निर्णय गरेका छन् । डडेल्धुरामा सातमध्ये तीन तहको नेतृत्व पाउनु पर्ने दावी माओवादीले गरेको छ । यद्यपि गठबन्धनको बैठकमा सिट बाँडफाडबारे औपचारिक छलफल सुरु भएको छैन ।

नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायरले सबै जिल्लामा गठबन्धनबीच तालमेल गरेर जाने सहमति भए पनि सिट बाँडफाटको विषयमा धेरै छलफल नभएको बताए । ‘तालमेल गर्ने सहमति सबै ठाउँमा भएको छ । तर कहाँ कसले लिने भन्ने विषयमा फलफल हुन बाँकी छ ।’ उनले भने, ‘सबै पार्टीले आफ्नो अवस्थाबारे तल्ला कमिटीबाट बुझ्ने काम गरिरहेका छन् । सबैले आफ्नो स्टे«न्थ एकीन गरेपछि गठबन्धनको बैठकमा सिट बाँडफाडको छलफल हुन्छ ।’ तल्ला तहबाट आउने रिपोर्टका आधारमा कहाँ कुन पार्टी बलियो छ भन्ने अवस्था हेरेर गठबन्धन हुने उनले बताए ।

‘गठबन्धन हुनुपर्छ र हुनु हुँदैन भन्ने दुवै खालका मतहरु हाम्रो पार्टीमा देखिएका छन् ।’ उनले भने, ‘केन्द्रमा गठबन्धन छ, त्यसैले यहाँ हामी बलियो छौँ भनेर तछाडमछाड गरेर एक्लै जाँदैनौँ । हामी बलियो भएको ठाउँमा हामी लिन्छौँ, कमजोर भएका ठाउँमा अरुलाई सहयोग गर्छौँ ।’

नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष बिक्रमबहादुर शाहीले गठबन्धनका दलहरुले अहिले कहाँकहाँ आफूले दावी गर्ने भनेर प्रस्ताव तयार गरिरहेका बताए । सबै पार्टीले आफ्नो उपस्थितिका आधारमा प्रस्ताव तयार गरेपछि पालिका नेतृत्व बाँडफाडमा छलफल थालिने उनले जानकारी दिए । केन्द्रबाट सिट बाँडफाडको मोडालिटी तय भएपछि त्यही आधारमा प्रदेशमा सिट बाँडफाड गरिने उनको भनाइ छ ।

‘नेतृत्व तहमा गठबन्धन गर्नुपर्छ भन्ने छ । कार्यकर्ता तहबाट गठबन्धन नगरौँ भन्ने दवाव छ ।’ अध्यक्ष शाहीले भने, ‘काँग्रेससँग नभए पनि माओवादी र हाम्रो गठबन्धन हुन्छनै, माओवादीसँगको गठबन्धन गर्दा पनि हामी बलियो अवस्थामा हुन्छौँ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पनि तालमेल गरेर जाने गठबन्धनको निर्णय छ तर भागवण्डा टुङ्गिएको छैन । काँग्रेस डडेल्धुराका उपसभापति डिल्लीराज जोशीले तालमेलको सहमति भए पनि कहाँ कसले लिने भन्ने विषयमा छलफल हुन बाँकी रहेको बताए । ‘आआफ्नो पार्टीको अवस्था र तल्लो तहका कमिटीको धारणा बुझ्ने काम भइरहेको छ ।’ उनले भने, ‘शक्तिको आँकलन गरेपछि कुन पालिका कसले लिने भन्ने छलफल गर्छौँ ।’

नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि चौधरी उत्सवले सबै जिल्लामा गठबन्धन सकारात्मक रुपमा अगाडि बढेको बताए । गठबन्धनका सबै दलको सम्मानजनक स्थान हुने गरी सिट बाँडफाड गरिने उनले बताए । ‘गठबन्धनप्रति सबै दल सकारात्मक छन् र जिल्ला तहमा सकारात्मक ढङ्गले छलफल अघि बढेको छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0