सामाजिक सञ्जालमार्फत धनगढीका मेयरमाथि जातीय विभेद गर्नेलाई २ महिना कैद


अत्तरिया – धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई जातीय विभेद हुने गरी अभिव्यक्ति दिने व्यक्तिलाई २ महिना कैद सजाय सुनाइएको छ । उच्च अदालत दिपायलले सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने गरी अभिव्यक्ति दिएका कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेलाई २ महिना कैद सजाय सुनाएको हो ।

पाण्डेले मेयर वडलाई लक्षित गर्दै ‘जात करे उत्पात भनेको यही हो’ भन्ने अभिव्यक्ति सामाजिक संजालमा लेखेका थिए । जसका विरुद्ध पतिराम सोवसहित चार जनाले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका थिए ।

सो मुद्धामा कैलाली जिल्ला अदालतले २०७७ मंसिर ३० गते प्रतिवादी पाण्डेलाई पाँच सय रुपैयाँ जरिवाना मात्र गरेको थियो । उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला उल्टाउँदै प्रतिवादीलाई २ महिना कैद र बीस हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । कैलाली जिल्ला अदालतले पुरानो कानूनी व्यवस्था प्रयोग गरी गरेको फैसला त्रुटिपूर्ण भएको इजलासको ठहर छ ।

उच्च अदालत दिपायलका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको संयुक्त इजलासले प्रतिवादीले अदालतसमक्ष गल्ती महसुस गरेको अवस्थालाई ध्यानमा राख्दै न्यूनतम सजाय गर्दा समेत न्यायको मकसद पूरा हुने हुँदा उक्त सजाय गरेको उच्च अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0