अटो भाडामा कुरा नमिल्दा झगडापछि हत्या गर्ने २ जना पक्राउ पछि सार्वजनिक


धनगढीः गएको सोमबार धनगढीमा एक युवकको शव फेला पर्‍यो। उपमहानगरपालिकाको वडा नम्बर ५ जाई र शिवनगर जोड्ने सडक छेउको नालीमा युवकको शव फेला परेको थियो। त्यो शव थियो भारतको उत्तरप्रदेशस्थित शाहजापुराका अन्दाजी ४२ वर्षीय कुलदीप गुप्ताको थियो । बाटो हिँड्ने एक युवतीले सोमबार बिहान पौने १० बजेतिर युवकको शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्।

प्रहरीले गुप्ताको हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान सुरु गर्‍यो। भारतीय नागरिकको शव फेला परेको ५ दिनमा जिल्ला प्रहरी कार्यालय कैलालीले युवकको हत्यामा संलग्न दुई आरोपितलाई सार्वजनिक गरेको छ। शुक्रबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भुपेन्द्र बुढालाई सार्वजनिक गरिएको हो।
को हुन् कुलदीप गुप्ता ?
भारतको उत्तरप्रदेशस्थित शाहजापुराका अन्दाजी ४२ वर्षीय कुलदीप विगत लामो समयदेखि धनगढीमा बस्दै आएका थिए। उपमहानगरपालिकाको वडा नम्बर ४ शिवपुरी धाम नजिक उनी डेरा गरी बस्दै आएका थिए। उनले धनगढीमा सामान्य कामसमेत गर्दै आएका थिए। गुप्ता विगत ८ महिना अगाडि आफ्नो परिवारसहित भारत गएका थिए। त्यसपछि उनी फागुन २१ गते विहान मात्रै धनगढीमा देखिएको प्रहरी अनुसन्धानले देखाएको छ। त्यसपछि उनी धनगढीमै काम खोज्न थालेका थिए। प्रहरीका अनुसार उनले २२ गते नै आइसक्रिम बेच्ने काम पाएको देखिएको छ। उपमहानगरपालिकाको वडा नम्बर १ मा गोपाल मिश्राले सञ्चालन गरेको मिल्की फन आइसक्रिममा उनले काम गर्न सुरु गरेको देखिएको छ।

सोही दिन(हत्याको दिन) आइसक्रिम बिक्रि पनि गरेको प्रहरी अनुसन्धानले देखाएको छ। आइसक्रिम साहुबाट १२ सय ४० रुपैयाँ बुझि २२ गते साँझ नै कुलदीप गुप्ता अदालत रोडमा बस्दै आएका दाजु प्रदीपको डेरामा पुगेका थिए। कुलदीप मादक पदार्थ सेवन गरेर आफ्नो दाजुको डेरामा पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। ‘साढे ८ बजेको समयमा आफ्नो दाजुको डेरामा पुगेको देखिन्छ। त्यहाँ दुई जनाबीच सामान्य विवाद पनि भयो। त्यसपछि कुलदीप पार्कमोडसम्म पुगेको सिसिटिभी फुटेजले देखाएको छ,’ एसपी अधिकारीले भने।

कसरी भयो कुलदीपको हत्या ?
फागुन २२ गते साँझ मादक पदार्थ सेवन गरेका गुप्ता आफ्नो दाजुको डेराबाट निस्किए। अदालत रोड हुँदै उनी पार्कमोडसम्म पुग्छन्। राति ९ बजेपछि प्रदेश सभा भवन अगाडि उनी निलो रङको अटोमा बसेर नैनादेवीसम्म पुगेको सिसिटिभी फुटेजमा देखिएको छ। अटो चालकसमेत जाईमा बस्ने गरेकाले गुप्ताले पनि जालीतिर जाने भनेपछि उनलाई अटोमा राखिएको प्रहरी अनुन्धानबाट खुलेको छ। अटोमा चालकका साथी पनि सवार रहेका थिए। उनीहरु शिवनगर हुँदै जाईतर्फ जान्छन्।

अनुसन्धानबाट उनीहरु शिवनगर जाई जोड्ने कल्भर्ड नजिक पुगेको देखिन्छ। उक्त ठाउँमा अटो भाडाको विषयमा उनीहरुबीच विवाद भएको खुलेको कैलाली प्रहरी प्रमुख एसपी अधिकारीले बताए। ‘गुप्ताले अटो चालकलाई ‘नेपाली लोग’ भन्दै गाली गलौज गरेको देखिन्छ। त्यसपछि उनीहरु बीच हानाहान पनि भएको देखिन्छ। त्यसक्रममा गुप्ता सडक नालीमा खस्छन्। त्यसपछि अटो चालकका साथीले अटोमा रहेको काठको टुक्रा प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन्,’ एसपी अधिकारीले भने।

यसरी सफल भयो प्रहरी अनुसन्धान
भारतीय नागरिक कुलदीप गुप्ताको हत्यापछि कैलाली प्रहरी सामू एक चुनौतिको पहाड खडा भयो। घटनास्थलबाट शव उठाउँदासम्म मृतकको पहिचानसमेत भएको थिएन। उनको साथमा न मोबाइल फोन थियो न अन्य कुनै परिचय खुल्ने कागजपत्र। यसकारण सो घटनाको अनुसन्धान गर्न प्रहरीलाई सजिलो थिएन। तर सिसिटीभ फुटेजले प्रहरी अनुसन्धानलाई केही राहत भयो। त्यसपछि निलो रङको अटोलाई खोजी गर्नतर्फ केन्द्रित भयो प्रहरी। सोहीक्रम सिसिटिभीमा देखिएको अटो खोज्ने क्रममा शुक्रबार बिहान कुलदीप चढेको से१ह २८६६ नम्बरको अटो फेला पर्छ।

त्यसपछि अटो चलक बाजुराको खप्तड छेडदह–२ का २४ वर्षीय राजेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लियो। बुढालाई सोधपुछ गर्नेक्रममा बाजुराको छेडदहकै २० वर्षीय भूपेन्द्र बुढा पनि उक्त घटनामा संलग्न भएको देखिन्छ। त्यसपछि यो घटनाको जरासम्म पुग्न प्रहरीलाई सजिलो भयो। बुढाद्वयले घटना भएको दिन रुवस होटल नजिकमा सँगै बसेर रक्सी सेवन गरेको प्रहरीले जनाएको छ। त्यसपछि उनीहरु जाई जानको लागि निस्किन्छन्। पार्कमोडमा भेटिएका कुलदीप पनि अटोमा सवार हुन्छन्। भाडाकै विषयमा विवाद हुँदा अटोमा सवार भूपेन्द्रले काठको टुक्रा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अधिकारीले बताए। आरोपित बुढा द्वयले मादक पदार्थ सेवन गरेको हुँदा रिसको आवेगमा कुलदीपको हत्या गरेको स्वीकार गरेका छन्। दुवै जनालाई पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0