दार्चुलाको नौगाड गाउँपालिकामा भारतीय डिभाइसयुक्त शंकास्पद बेलुन खस्यो


दार्चुला – दार्चुलाको नौगाड गाउँपालिकामा बिहीबार राति आकाशबाट विद्युतीय यन्त्रजडित बेलुन खसेको छ । राति करिब ८ बजेतिर तीन वटा ब्याट्री जडान गरिएको विद्युतीय यन्त्र जस्तो देखिने बेलुन खसेको वडा नम्बर ३ खारका स्थानीय अर्जुनसिंह ठगुन्नाले बताए ।

आकाशमा उडिरहेको बेलुन विद्युतीय पोलमा ठोक्किएर खसेपछि हेर्दा भारतीय मोबाइल नम्बर लेखिएको ब्याट्री जडित डिभाइस पाइएको उनले बताए ।

विद्युतीय यन्त्र जस्तो देखिने उक्त वस्तुभित्र मेमोरी कार्ड जस्ता प्लेटहरू, तीन वटा ब्याट्री जडान गरिएको छ भने भारतीय मोबाइल नम्बर लेखिएको छ ।

उक्त मोबाइल नम्बरमा फोन गर्दा उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनस्थित भारतीय मौसम विज्ञान विभागको रहेको जानकारी प्राप्त भएको छ । भारतीय मौसम विज्ञान विभागले वायुमण्डलको डाटा संकलनका लागि बेलुन बाँधेर उक्त डिभाइस उडाउने गरेको फोनमा जवाफ मिलेको उनले बताए ।

नौगाड गाउँपालिकाका योजना शाखा अधिकृत नरेन्द्र ठगुन्ना, विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णसिंह ठगुन्नालगायतको टोली पनि उक्त स्थानमा पुगेको थियो । उक्त विषयमा बुझ्न प्रहरी टोली खटाइएकाले विस्तृत जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए ।

यसअघि पनि दार्चुलाको आकाशमा यस्ता शंकास्पद वस्तुहरू फेला पर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0