डोटीमा ठेक्का भएको ८ बर्षसम्म पनि पुलको काम २० प्रतिशत मात्रै सम्पन्न


डोटी – डोटीमा पुल निर्माणका लागि ४ पटक म्याद थप गर्दा पनि निर्माणको काम पुरा हुन सकेको छैन । शिखर नगरपालिका–१० स्थित सेती नदी माथिको मोटरेबल पुल निर्माणका लागि २०७१ सालमा ठेक्का सम्झौता भएपनि हालसम्म पुलको २० प्रतिशत मात्रै काम हुन सकेको हो ।

सुरुमा ३ बर्षमा पुल निर्माण गरिसक्ने भनिएपनि झण्डै आठ वर्ष पूरा हुँदा पनि काम अधुरो नै रहेको छ । सुरुको सम्झौता अनुसार पुल २०७४ साल असार २९ गते काम सम्पन्न गरिसक्नु पर्ने उल्लेख थियो ।

२०४९ सालमा निर्माण कार्य सुरु भएको सातनाली मेल्लेक सडकलाई केआई सिंह राजमार्गसँग जोड्ने पुल निर्माण गर्न २०७१ साल असार २९ गते सम्झौता भएको संघीय सडक सुपरीबेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन कुलपातेले जानकारी दिएको छ ।

हालको सम्झौता अनुसार ठेक्काको अन्तिम म्याद २०७८ चैत्र मसान्तसम्म रहेको भएपनि काम भने २० प्रतिशत मात्रै भएको छ ।

मूल्य अभिवृद्धि कर ९भ्याट० सहित २६ करोड २० लाख रुपैयाँ लागतमा निर्माण हुने भनिएको तीन सय २० सय मिटर लामो उक्त आरसिसी पुल निर्माणका लागि डिभिजन सडक कार्यालय कुलपाते, डोटीले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।

डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर योगेन्द्रबहादुर अधिकारीका अनुसार हालसम्म निर्माता कम्पनीले हालसम्म ३करोड २१ लाख रुपैयाँ भुक्तानी समेत लिएको छ ।

पुल निर्माणको कार्य सुरु भएपछि आफूहरु पनि सडक सञ्जालमा जोडिने आश लगाएर बसेका स्थानीयहरु पनि निराश हुन थालेका छन् ।
सेती नदीमा पुल नहुँदा शिखर नगरपालिका–११ सडक सञ्जालमा जोडिन सकेको छैन । नदीमा पुल नभएकै कारण २०४९ सालदेखि निर्माण कार्य सुरु भएको सातनाली मेल्लेक सडक समेत अलपत्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0