मालाखेती अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना पुष्टिः कोरोना विरुद्धको खोप प्रभावित


अत्तरिया– कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको मालाखेती अस्पतालबाट दिइने कोरोना विरुद्धको खोप सेवा प्रभावित भएको छ । अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नियमित दिइदै आएको खोप सेवा प्रभावित भएको हो ।

गोदावरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको बताए । उनले १२ मध्ये ३ जनाले कोरोना जितेपनि अन्य ९ जना हाल पनि संक्रमित रहेको बताए ।

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि शुक्रबार देखि मंगलबार सम्मका लागि खोप कार्यक्रम स्थगित गरिएको अस्पताल प्रशासनले जनाएको छ । २४ सैँ घण्टा इमरजेन्सी सेवा, २४ सैँ घण्टा संस्थागत सुत्केरी सेवा, एक्सरे, भिडियो एक्सरे सेवा संचालमा रहेको यस अस्पतालमा कोरोना खोप कार्यक्रम सुरु भएदेखि नियमित खोप कार्यक्रम संचालन भइरहेको थियो ।

नगरपालिकामा हालसम्म ४२ हजार बढीले कोरोनाको पूर्ण डोज लगाइसकेका छन भने हाल बुस्टर डोज लगाउने कार्यक्रम पनि जारी रहेको छ । नगरपालिकाले गत साताको बुधबार देखि बुस्टर डोज दिन सुरु गरेको थियो । हाल मालाखेतीमा खोप कार्यक्रम स्थगित भएपनि नगरपालिकाका अन्य स्वास्थ्य संस्थामा भने कोरोना खोप कार्यक्रम संचालनमै रहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए ।

अस्पतालका जनस्वास्थ्य निरिक्षक महेश दत्त पाण्डेले कोरोना पोजेटिभ देखिएका कार्मचारीलाई ७ दिन विदामा बस्न लगाइएको बताए । अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी गरी ३४ जना कार्यरत रहेकोमा एक तिहाई बढी कर्मचारीमा कोरोना देखिएपछि अस्पतालका अन्य सेवा पनि प्रभावित भएका छन ।

हाल गोदावरी नगरपालिकामा २ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १ जनाको मृत्यु भएको नगरपालिको स्वास्थ्य शाखाले जनाएको छ । यद्दपी सीमा नाका कोरोना पुष्टि भएकाहरुको विवरण नगरपालिकाले नराखेकाले यो संख्या अझै बढी हुन सक्ने देखिन्छ ।

गोदावरीमा कोरोना संक्रमण बढेपछि हाल नगरपालिकाले पनि आफ्नो सेवा बन्द गरेको छ । नगरपालिका कार्यालय र वडा कार्यालयहरुमा कोरोना संक्रमण देखिएपछि माघ ९ गते देखि नगरपालिका र मातहतका वडा कार्यालय बन्द गरिएका छन । एक साताका लाग बन्द गरिएको सेवा माघ १५ गते पछि सुचारु हुन जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0