सुदूरपश्चिममा कोरोना संक्रमण दर बढ्दै, आज थपिए १९४ जना


धनगढी – सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको ग्राफ निरन्तर उकालो लाग्न थालेको छ। पछिल्लो एक सातादेखि कोरोना भाइरसको ग्राफ उकालो लाग्न थालेको हो। प्रदेशमा आज मात्रै एक सय ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार ३९ जनाको पीसीआरमार्फत र १५५ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। आज एक हजार ७१३ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएका १९४ जनामध्ये भारतबाट स्वदेश फर्केका १४८ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ७७ र गड्डाचौकी नाका भएर स्वदेश फर्केका ७१ जनामा संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिमका नाका भएर आज एक हजार ४३७ नेपाली स्वदेश फर्केका छन्। आज सुदूरपश्चिमका चार वटा नाका भएर एक हजार ६३२ जना स्वदेश फर्केका छन्।

भारतबाट फर्किएर नाकामा परीक्षण गर्ने क्रममा लक्षणसहित संक्रमण पुष्टि भए धनगढीको आइसोलेसनमा राख्ने गरिएको छ। लक्षण नभएर पनि संक्रमण पुष्टि भएका र एन्टिजेन परीक्षण नेगेटिभ आएका नागरिकलाई भने सिधै घर पठाउने गरिएको छ। यसले फेरि समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिने खतरा बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0