कञ्चनपुरमा छैटौँ थारु राष्ट्रिय साहित्य सम्मेलन हुने


कञ्चनपुर – छैटौँ थारु राष्ट्रिय साहित्य सम्मेलन कृष्णपुर नगरपालिका–६ सिंहपुरमा आयोजना गरिने भएको छ। आगामी फागुनको १२, १३ र १४ गते साहित्य सम्मेलन आयोजना हुन लागेको हो। सम्मेलन आयोजना गर्न संयोजकको जिम्मेवारी समाजसेवी जोगराज चौधरीलाई दिइएको छ।

उनको संयोजकत्वमा जिल्लाका नौ वटै स्थानीय तह समेटिने गरी १३ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। समितिमा सुनिता चौधरी, दुर्गा चौधरी, सुमन चौधरी, लक्ष्मी चौधरी, खुसीराम चौधरी, हवल्दार चौधरी, जीत बहादुर चौधरी र मेवाराम चौधरी सदस्यका रूपमा रहेका छन्। सम्मेलन सम्पन्न गर्नका लागि थारु कल्याणकारी सभा कञ्चनपुर, स्थानीय आयोजक तथा थारु लेखक सङ्घको आन्तरिक सहमतिमा संयोजन गर्ने आधार तय गरिएको सङ्घका केन्द्रीय सदस्य मोहनप्रसाद चौधरीले बताए।

जिल्लाका साहित्यिक मुद्दा उठानका लागि वीरबहादुर राजवंशीको संयोजकत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ। थारु साहित्य सम्मेलनमा थारु समुदायका साहित्यिक कृति र ओझेलमा रहेका संस्कृतिका बारेमा गहन छलफल तथा विश्लेषणको कार्य हुने छ। सम्मेलनका लागि रु १० लाख बढी खर्च लाग्ने बताइएको छ। सम्मेलनमा देशभरिका थारु साहित्यकार, बुद्धिजीवी, लेखकको जमघट हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0