बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र


बैतडीस् बैतडीका विभिन्न विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र स्थापना भएका छन्। यौन तथा प्रजनन स्वास्थ्यका बारेमा जानकारी नहुँदा विभिन्न समस्या हुने भएकाले सरकारले नै विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र स्थापना गर्ने नीति ल्याएको छ। सोहीअनुसार जिल्लाका विभिन्न २१ विद्यालयमा केन्द्र स्थापना भइसकेका र सदरमुकामस्थित दशरथचन्द नगरपालिकाभित्रका १० विद्यालयमा पनि केन्द्र स्थापनाको तयारी भएको छ। दशरथचन्द नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दका अनुसार किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यका बारेमा जानकारी दिन र बृहत यौनिकता शिक्षाका विषयमा उनीहरुलाई जागरुक गराउन विद्यालयहरुमा सूचना केन्द्र स्थापना गरिन लागिएको हो।

दशरथचन्द नगरपालिका–१ मा रहेको शोभा माविमा मात्रै अहिले किशोरकिशोरी मैत्री सूचना केन्द्र सञ्चालनमा रहेको बृहत यौनिकता शिक्षा प्राविधिक कार्य समूहले जनाएको छ। निङ्गलाशैनी मावि देहीमाडौँ, कुलौन मावि खतेडी, वीरेन्द्र मावि शाहीलेक, दशरथचन्द मावि सुन्दरखाली, जगदम्बा मावि रानीबुंगा, दानेश्वर मावि बाराकोट, कालिका मावि थालीगडा, केदारशिला मावि सुर्काल, जोशीबुंगा मावि लमौता र केदारनागार्जुन मावि बग्लेखानमा किशोरकिशोरीमैत्री सूचना केन्द्र सञ्चालन गरिने बताइएको हो।

किशोरकिशोरी मैत्री सूचना केन्द्रले अभिभावक, शिक्षक र विद्यार्थीमा यौन तथा प्रजनन स्वास्थ्यका बारेमा रहेका गलत धारणा हटाउन मद्दत गर्ने दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथको विश्वास रहेको छ। उनले भने, “यौन तथा प्रजनन स्वास्थ्यका विषयमा रहेका गलत धारणा हटाउन यी केन्द्रले सहयोग गर्नेछन्, साथै समाजमा रहेका विभिन्न हानिकारक प्रचलन हटाउन पनि केन्द्रले महत्वपूर्ण भूमिका खेल्नेछ।”

किशोरकिशोरी मैत्री सूचना केन्द्रका लागि विद्यालयमा एउटा छुट्टै कोठाको व्यवस्थापन गरेर किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्यका विषयमा अध्ययन गर्न सक्ने विभिन्न पाठ्यसामग्री राखिन्छन्। उक्त केन्द्रमा किशोरकिशोरीलाई आफ्ना समस्याका विषयमा खुलेर छलफल गर्ने जनाइएको छ।

जिल्लामा हालसम्म २१ वटा विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र स्थापना भएका छन्। बृहत यौनिकता शिक्षाका विषयमा समुदायस्तरमा सचेतना फैलाउनका लागि अहिले विभिन्न निकायसँग मिलेर काम भइरहको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए। किशोरकिशोरी मैत्री सूचना केन्द्र स्थापनाका लागि फाया नेपालले सहयोग गर्दै आईरहेको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0