कैलालीमा बस र स्कारपियो आपसमा ठोक्किँदा २७ जना घाइते


धनगढी- कैलालीमा बस र स्कारपियो आपसमा ठोक्किँदा २७ जना घाइते भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका ३ स्थित गोराङ्गेमा बस र स्कारपियो एकापसमा ठोक्किएका हुन् ।

काठमाण्डौँबाट महेन्द्रनगर तर्फ आउँदै गरेको सुपप्र ००२(००१ ख १०८४ नम्बरको बस र पश्चिमबाट पूर्व जाँदै गरेको से १ च १५९३ नम्बरको स्कारपियो एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

स्कारपियोमा सवार चालक सहित ३ जना र बसमा सवार ३८ जना गरी जम्मा ४१ जना सवार रहेका मध्ये २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

घाइतेहरूलाई लम्की स्थित लालरत्न अस्पतालमा पठाई उपचार भइरहेको र अन्य सवार सकुशल रहेको प्रहरीले जनाएको छ । सडक पूर्ण रूपमा सुचारु भएको छ । घाइते सबैको अवस्था सामान्य रहेको कैलाली प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0