माओवादीको सुदूरपश्चिम सम्मेलन धनगढीमा, अध्यक्षका ६ आकांक्षी


शनिवार र आईतवार हुने सम्मेलनबाट ९ पदाधिकारीसहित २२३ ( १० प्रतिशत मनोनितसहित) जनाको प्रदेश समिति चयन हुनेछ । पदाधिकारी तथा सदस्यका आकांक्षी नेताहरू गृहकार्यमा जुटेका छन् । सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने माओवादी केन्द्रको तयारी छ । माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले नेतृत्व चयनको लागि सबैभन्दा पहिले सहमतिकै प्रयास हुने बताए । अन्तिम विकल्पको रूपमा मात्रै लोकतान्त्रिक विधिमा पनि जान सक्ने इन्चार्ज भट्टको भनाइ छ ।

अध्यक्षमा ६जना को–को छन् आकांक्षी ?

सुदूरपश्चिममा हाल माओवादी केन्द्रका १३ जना केन्द्रीय सदस्य छन् । १७५ जनाको प्रदेश आयोजक समिति छ भने हाल १ हजार १४७ जना प्रतिनिधिहरू पालिका अधिवेशनबाट छनोट भई आएका छन् । माओवादी भित्रको एकथरीले केन्द्रीय सदस्यबाट नै अध्यक्षसहित पदाधिकारी चयन गर्नुपर्ने भन्दै लविङमा छन् । केन्द्रीय सदस्यमध्ये हालका प्रदेश अध्यक्ष शरदसिंह भण्डारी (अछाम), नरेन्द्र कुँवर (बैतडी), प्रदेशसभा सदस्य समेत रहेका वीरमान चौधरी (कैलाली), प्रदेश समिति सचिव नेपबहादुर चौधरी (कैलाली) पनि अध्यक्ष बन्ने दौडमा रहेको माओवादी केन्द्रका अर्का केन्द्रीय सदस्य देवराज रेग्मीले जानकारी दिए।

तर १ व्यक्ति, १ पदको नीति लिएको माओवादीमा केन्द्रीय सदस्यले प्रदेश पदाधिकारी बन्नको लागि केन्द्रीय सदस्यबाट राजीनामा दिनुपर्ने प्रावधान रहेको माओवादी केन्द्रका निर्वाचन आयोगका केन्द्रीय सदस्य हरि श्रीपाइलीले जानकारी दिए। माओवादीभित्र अर्कोथरीले हालका केन्द्रीय सदस्यहरू केन्द्रीय सदस्यमै रहनुपर्ने र प्रदेश समितिका सदस्य तथा पदाधिकारीलाई नै नयाँ बन्ने प्रदेश समितिको नेतृत्व दिनुपर्ने भन्दै बहस चलाएका छन् । केन्द्रीय सदस्य भइसकेका व्यक्तिले तल्लो तहमा दाबी गर्न नहुने भन्दै उनीहरूले जोडदार बहस चलाएका छन् । हालका प्रदेश समिति सदस्य तथा राष्ट्रियसभा सदस्य हरिप्रसाद चौधरी ‘उत्सव’ (कैलाली), हरि ज्ञवाली ‘अखण्ड’ (कैलाली) पनि अध्यक्षको दौडमा देखिएका केन्द्रीय सदस्य रेग्मीले बताए । प्रदेश समिति पदाधिकारीका लागि सबैभन्दा बढी कैलाली जिल्लाबाट देखिएका छन्

सबैभन्दा बढी सदस्य रहेको कैलाली जिल्लाबाटै अध्यक्ष चयन गर्नुपर्ने छलफल पनि चलिरहेको एक जना नेताले बताए। यद्यपि सबै भूगोलको प्रतिनिधि हुनुपर्ने पनि आवाज उठेको छ। सुदूरपश्चिममा माओवादीका ८८ हजार सदस्य रहेका छन् । जसमध्ये सबैभन्दा बढी कैलालीमा २८ हजार ५४३ जना सदस्य छन्। पदाधिकारीको दौडमा प्रदेशसभा सदस्य तथा कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी पनि खुलेर लागेका छन् । सचिव पदमा आफ्नो दाबी रहेको बताउँदै उनी लविङमा उत्रिएका छन् । २२३ सदस्यीय प्रदेश समितिमा १ जना अध्यक्ष, ३ जना उपाध्यक्ष, १ जना सचिव, ३ जना सहसचिव र १ जना कोषाध्यक्ष गरी ९ जना पदाधिकारी चयन हुनेछन् । माओवादी केन्द्रको अन्तरिम विधान २०७८ अनुसार बन्ने प्रदेश समिति समावेशी चरित्रको हुनेछ । ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाको प्रतिनिधित्व गराउनुपर्ने व्यवस्था रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0