बैतडीमा एक लाख ४६ हजार मतदाताको नाम दर्ता


धनगढीः फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रमअन्तर्गत बैतडीमा हालसम्म एक लाख ४६ हजार बढीको नाम दर्ता भएको छ। जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयाँलका अनुसार हालसम्म एक लाख ४६ हजार ८२ जनाले आफ्नो नाम दर्ता गराएका हुन्।

विसं २०७७ पुस ५ सम्म मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या एक लाख ४४ हजार ९०२ रहेका छन्। तीमध्ये ७२ हजार ३४१ पुरुष, ७२ हजार ५५९ महिला र दुई जना तेस्रोलिङ्गी रहेका छन्। त्यसपछि हाल पालिकास्तरमा सञ्चालन भइरहेको विशेष कार्यक्रमअन्तर्गत एक हजार १८० जनाले नाम दर्ता गराइसेकेका छन्। निर्वाचन आयोगले यही मङ्सिर १७ गतेदेखि देशभरिका स्थानीय तहका केन्द्रमा फोटोसहितको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन गरिरहेको हो। विसं २०७७ पुस ५ गतेसम्म १८ वर्ष पुगेका व्यक्तिको सङ्ख्या भने एक लाख ४१ हजार ८९५ रहेको जनाइएको छ। १६ वर्षमा नेपाली नागरिकता बनाउने र १६ वर्षदेखि नै मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भए पनि मतदान गर्नका लागि १८ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ।

गएको पुस ५ गते सङ्घीय संसद् विघटनपश्चात मतदाता नामावली सङ्कलनको काम रोकिएकोमा त्यसपछि गत वैशाखदेखि पुनः सुरु भएर जेठ ८ सम्म सञ्चालन भएको थियो। त्यसपछि साउन १ गतेदेखि पुनः नामावली सङ्कलनको कार्य सञ्चालन भइरहेको छ। हाल पालिकास्तरमा सञ्चालनमा रहेको नामावली सङ्कलन विशेष कार्यक्रम पुस ८ गतेसम्म सञ्चालन हुने छ। जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा भने निर्वाचनको मिति घोषणा नहुँदासम्म जारी रहने प्रमुख फुयाँलले बताए। आफ्नो मताधिकार सुनिश्चित गर्न यसअघि छुट भएका सबै नागरिकलाई नामावलीमा नाम दर्ता गराउन आग्रह समेत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0