दार्चुलामा बालबालिकालाई मोडर्ना खोप लगाइने


धनगढी- दार्चुलामा आगामी पुष ४ गतेदेखि मोडर्ना खोप लगाइने भएको छ। जिल्लाका १२ देखि १७ वर्षसम्मका २१ हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको हो।

जिल्लामा रहेका सबै विद्यालयका ६ देखि १२ कक्षासम्म सो उमेर समूहका बालबालिकालाई विद्यालयमै पुगेर खोप दिन लागिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताए। बालबालिकामा लगाइने मोडर्ना खोप २८ दिनको फरकमा दुई डोज लगाउनुपर्ने बताइएको छ। स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा पहिलो डोज खोप लगाउनेको संख्या ७१ हजार १५ जना रहेको छ भने पूर्ण खोप लगाउनेको संख्या ६३ हजार ७ सय ५० जना रहेको छ।

यस्तै, कोभिशिल्डको पहिलो डोज लगाउनेको संख्या २१ हजार ८५५जना र पूर्ण डोज लगाउनेको संख्या १९ हजार ४० जना, भेरोसेलको पहिलो डोज लगाउनेको संख्या ४४ हजार १७० जना र दोस्रो डोज लगाउनेको संख्या ४० हजार ७ सय २६ जना र जोन्सन एण्ड जोन्सन खोप लगाउनेको संख्या ४ हजार ९८४ जना रहेको छ। जिल्लामा कुल जनसंख्याको ७६ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् भने पूर्ण खोप लगाउनेको संख्या ६७ प्रतिशत मात्रै रहेको स्वास्थ्य कार्यालयले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0