बोगटान सडक जोडिएपछि बस्ती विस्तारमा तीव्रता


डोटी सहजपुर–बीपीनगर–बोगटान हुँदै दिपायल जोड्ने बोगटान सडक सम्पन्न भएपछि अहिले डोटीका विभिन्न ठाउँमा बस्ती विस्तार निकै तीव्र भएको छ। केही सयम पहिले सुनसान रहेका डोटीका विभिन्न ठाउँमा सडक सञ्जाल जोडिएपछि बस्ती विस्तार हुने क्रम तीव्र बनेको स्थानीय बताउँछन्।

सडक निर्माणको शुरूआती समयमा सुनसान रहेका डोटीका बस्ती अहिले सडक जोडिएपछि क्रमशः बाक्लिँदै गएका बडिकेदार गाउँपालिका–१ का प्रेमबहादुर देउवाले बताए। उनले भने, ‘सडक नजोडिँदा यहाँ सुनसान थियो, अहिले सडक सञ्जाल जोडिएपछि धमाधम बस्ती विस्तार हुँदैछ, अहिले सहरभन्दा यहाँ बढी चहलपहल छ।’

बस्ती विस्तारसँगै यहाँका घरजग्गाको मूल्य बढेर कारोबार पनि बढ्दै गइरहेको सञ्चारकर्मी हिक्मत बमले बताए । पहिले यहाँ व्यापार पनि खासै थिएन, अहिले सडक जोडिएपछि जग्गा कारोबारदेखि अन्य व्यापार व्यवसाय समेत फस्टाएको बमले बताए। वर्षौंपछि सडक जोडिएकाले कैलालीको हाटखोली, शिवनगर, चिम्चे, निगाली, डोटीको बीपीनगर, बर्छैन, घोडीलास, कापडीगाड, पात चिउरी, रुमाइल, अत्तरकाडा लगायतका दर्जनौं स्थानमा बजार विस्तार भएका छन् भने केही ठाउँमा बजार विस्तारको तयारी भइरहेको स्थानीय बताउँछन्।

यसअघि यी गाउँमा जग्गाको कारोबार खासै नहुने गरेको भए पनि सडक जोडिएको कम्तीमा पनि ४ महिनामा जग्गाको कारोबारमा एकाएक वृद्धि भएको बडिकेदार–५ का स्थानीय पदमसिंह बडैलाले बताए। उनका अनुसार सडक आसपास क्षेत्रमा जग्गाको मूल्य आकाशिएको छ। सडक बनेपछि ग्रामीण भेग दिनहुँ व्यापारिक केन्द्रमा परिणत हुँदै गएका छन्।

सहजपुर–बिपीनगर–बोगटान हुँदै दिपायल जोड्ने सडक खुलेपछि ग्रामीण क्षेत्र व्यापारिक केन्द्र बन्न थालेकाले स्थानीयवासीको जीवनस्तरमा परिवर्तन हुन थालेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताए। यहाँका बिपीनगर, भक्तपुर, खड्यौली, बर्छैन, कापडीगाड तथा शिवनगर क्षेत्रमा ठूला पसल तथा होटल निर्माण भई सञ्चालनमा समेत आउन थालेका छन्। पछिल्लो समय ती स्थानमा घरजग्गाको मूल्य आकाशिएको छ। सडक आसपासमा धमाधम घर निर्माण भइरहेका छन्। यहाँको बिपीनगर तथा शिवनगर क्षेत्रमा विगतमा दुई लाखमा पाइने घडेरी दुई वर्षयता तीन गुणाले बढेको स्थानीयवासी बताउँछन्।

गाउँका जग्गा सस्तोमा बेचेर सहरी क्षेत्रमा गएकाहरु समेत सडक खुलेपछि पुनः गाउँ फर्कन थालेको बडिकेदार गाउँपालिका–१ बिपीनगरका रोजबहादुर कलेलले बताए। सदरमुकामका प्रतिष्ठित व्यापारीले समेत यहाँका बिपीनगर तथा शिवनगर क्षेत्रमा लगानी गर्न थालेको बताइएको छ। हावापानी अनुकूल हुनु र गाउँमै यातायात पहुँच पुगेपछि लगानी भित्रिन थालेको स्थानीयवासीको बुझाइ छ। यही कारण पसल, होटल तथा कृषि फार्म गाउँमै खुल्न थालेको उनीहरूको बुझाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0