विश्वकपको ग्लोबल छनोट हुनबाट चुक्यो नेपाल
काठमाडौँ– निर्णायक खेलमा यूएईसँग पराजित भएपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको विश्वकप यात्रा रोकिएको छ । आफूले खेलेका ५ मध्ये ३ खेलमात्र जितेको नेपाल ग्लोबल छनोटका लागि अगाडि बढ्न सकेन ।
एसियाली छनोट अन्तर्गत आइतबार भएको खेलमा नेपाल आयोजक यूएईसँग ४८ रनले पराजित भयो । शतप्रतिशत नतिजासहित आयोजक यूएई समूह विजेता बन्दै विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल भएको छ । उसको १० अंक छ । तीन खेलमा जित निकालेको नेपालको ६ अंक छ ।
दुबईमा यूएईले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभर सकिन २ बल बाँकी छँदै ७९ रनमा अलआउट हुन पुग्यो ।
नेपालका लागि ईन्दु बर्मा १५ र सीता राना मगरले १३ रन जोड्नु बाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् । सरिता मगर र काजोल श्रेष्ठले समान ८–८ तथा कविता कुँवर र अप्सरी बेगम समान ४–४, क्याप्टेन रुविना क्षेत्री, करुणा भण्डारी र सवनम राई समान २–२ तथा कविता जोशी एक रनमा आउट भए । संगीता राई ३ रनमा नटआउट रहिन् ।
नेपाललाई सस्तैमा समेट्न समिरा धर्नीधार्काले ४ तथा खुशी शर्मा र चामनी सेनेभिरन्ताले २–२ विकेट झारिन् ।
यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको यूएईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १२७ रनको सम्मानजनक योगफल तयार पारेको थियो ।
पहिलो ओभरको अन्तिम बलमा नेपाल विकेट लिन सफल भए पनि चामनी सेनेभिरन्ताले ५२ र थिर्था सतिसले ४७ रन बनाएपछि यूएई सम्मानजनक योगफल बनाउन सफल भयो । कविता कुँवरले २ तथा सवनम राई, सीता राना मगर र संगीता राईले समान १–१ विकेट लिए ।