केपी शर्मा ओली सर्वसम्मतिको प्रयासमा, भीम रावल प्रचार प्रसारमा


चितवन– चितवनको सौराहामा जारी नेकपा एमालेको दशौँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास जारी रहँदा निर्वाचन प्रक्रिया अनिश्चित भएको छ। आइतवार बिहानदेखि निर्वाचन प्रक्रिया अगाडि बढाइने भनिएको भए पनि अपराह्णसम्म निर्वाचन प्रक्रिया बढ्न सकेको छैन।

सहमति गराएर नामावली प्रकाशन गर्ने कसरतमा अध्यक्ष ओली र वरिष्ठ नेताहरू लागिपरेका छन् । बन्द सत्रबाट सर्वसम्मति गराउने अधिकार पाएका ओलीले पदाधिकारीका आकाङ्क्षी र विभिन्न समूहका नेताहरूसँग छलफल तीव्र बनाए पनि सहमति जुट्न सकेको छैन।

नेताहरू सहमति गर्ने प्रयासमा जुटेका कारण निर्वाचन प्रक्रिया ढिलो भएको हो । सहमति नभएको खण्डमा सहमति हुन नसकेका पदको निर्वाचन हुने एक एमाले नेताले बताए । शनिवार साँझ बन्द सत्रले केन्द्रीय कमिटीमा नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष केपी ओलीलाई दिएको थियो।

नेकपा एमालेको दशौँ महाधिवेशनमा अध्यक्षमा भीम रावलले उम्मेदवारी दिने घोषणा गरेका छन्। ओलीनिकटस्थ केही नेताले वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा आफू हुनुपर्पे अडान लिएपछि अध्यक्ष ओलीलाई आकाङ्क्षी व्यवस्थापनमा चुनौती थपिएका थियो।

अध्यक्ष ओलीपक्षीय नेताहरू सहमति गराउने पक्षमा देखिए पनि केही प्रतिनिधिहरू भने मतदानको पक्षमा छन्। अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावलनिकट कार्यकर्ताहरूले रावलको उम्मेदवारीबारे पर्चासहित प्रचारप्रसार सुरु गरिसकेका छन्।

सबै अधिकार अध्यक्ष ओलीको हातमा गएपछि आकाङ्क्षीहरू अध्यक्ष ओली बसेको होटलमा धाइरहेका छन् । नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका र पार्टी भित्र १० बुँदे सहमति गरेका नेताहरूलाई उचित स्थान दिनुपर्ने दबाव ओलीलाई एकातिर छ भने अर्कोतर्फ आफू निकट नेताहरूलाई चित्त बुझाउनुपर्ने भएका कारण नेतृत्वमा सर्वसम्मत गराउन सकस परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0