कांग्रेस डडेल्धुरा सभापति मल्लको टोलीद्धार सानेपामा रिले अनशन सुरु


धनगढी- नेपाली काँग्रेस डडेल्धुराका नेता तथा कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि रिले अनशन सुरू गरेका छन्। बुधबार मात्रै राजधानी पुगेका उनीहरुले डडेल्धुरामा अवैधानिक ढंगले गरिएका वडा तथा पालिका अधिवेशन खारेजीको माग गरेका छन्। साथै हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने समेत उनीहरूको माग छ।

काँग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा गएर न्याय माग्न नेता तथा कार्यकर्ताको टोली बसमार्फत मंगलबार काठमाडौं प्रस्थान गरेको थियो। बुधबार त्यहाँ पुगे लगत्तै धर्ना दिएर दिउँसो ३ बजेबाट रिले अनशन सुरु गरेको डडेल्धुराका पार्टी सभापति कर्णबहादुर मल्लले बताए। जिल्ला कार्य समितिको ६३औं तथा विशेष बैठकबाट सिफारिस भएका क्रियाशील सदस्यतामा व्यापक हेरफेर गरेर एकलौटी रुपमा गरिएका वडा तथा पालिका अधिवेशनको खारेजीको माग गर्दै केन्द्रीय पार्टी कार्यालयमा अनशन बसेको उनले बताए।

वडा अधिवेशन पूर्व उत्पन्न विवाद समाधानका लागि केन्द्रीय सभापति, केन्द्रीय निर्वाचन समितिलाई दिइएको निवेदन तथा उजुरीमाथि ५४ दिनसम्म पनि कुनै सुनुवाई नगरिएको र उल्टै बाँकी रहेका अधिवशनहरु सम्पन्न गर्न सभापति देउवा नै उद्दत रहेको उनको आरोप छ।

जिल्लाले पठाएका क्रियाशील सदश्यहरुमध्ये ४६० बिनाकारण हटाइएको र समायोजन भएका १०० सहित ४१२ एकपक्षिय रुपमा नयाँ थप गरिएको मल्ल पक्षको दाबी छ। भदौ २५ गते गरिएको एकलौटी वडा अधिवेशनप्रति असहमती राख्दै प्रक्रियाको प्रमाणसहित ९२ पानाको अवैधानिक अधिवेशनका कागजातहरु जिल्ला कार्य समितिको बहुमत निर्णयबाट केन्द्रीय कार्य समितिलाई भदौ ३१ नै बुझाई सकिएको सभापति मल्लले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0