कैलालीका सबै पालिकामा आज काँग्रेसको अधिवेशन हुँदै


धनगढी– कैलालीमा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएसंगै आजदेखी पालिका अधिवेशन सुरू भइरहेको छ ।नेपाली काङ्ग्रेस कैलालीका अनुसार आज १३ वटै पालिकामा अधिवेशन हुन लागेको हो। अधिकांश पालिकामा नेतृत्व चयनका लागि चुनाव हुने देखिएको छ। सुदूरपश्चिमको एकमात्र उपमहानगर धनगढीको सभापतिका लागि नेता यज्ञराज उपाध्यायले उम्मेदवारी घोषणा गरिसकेका छन्।

नेपाल विद्यार्थी संघबाट नेपाल काँग्रेसको राजनीतिमा सक्रिय भएका उपाध्याय अहिले नगर सचिव छन्। यस्तै उद्योग वाणिज्य संघका पूर्व महासचिव रुपेश स्वारले पनि नगर सभापतिमा चुनाव लड्ने बताएका छन्।

यस्तै गोदावरी नगरपालिकामा पनि दुई वटा प्यानल नगर कार्यसमितिका लागि चुनाबी मैदानमा छन्। वडाहरुमा आफ्नो बलियो उपस्थिती जनाएको पूर्वजिल्ला सभापति दीर्घराज भाटको टिम र डा. लक्ष्मीराज पाठकको टिम प्यानलसहित चुनाबी मैदानमा उत्रिने तयारीमा रहेका हुन्।

भाटका पक्षवाट नगरसभापतिमा विरबहादुर चोखाल र डा. पाठक पक्षवाट बिष्णु बडैलाको टिम प्यानलसहित चुनाबी मैदानमा रहेको छ। गौरीगगा नगरपालिकामा पहलबिक्रम चन्द र मोहन साउद, घोडाघोडीमा कालिराम चौधरी, लम्कीमा इन्द्र कुंवर र भक्तबहादुर चलाउनेको टिम चुनावी मैदानमा छ। नेपाली काङ्ग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजक नृप सुनारका अनुसार विभिन्न पालिकामा नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0