बाढीपहिरोका कारण एकै घरका चार जनासहित डोटीमा १२ जनाको मृत्यु


धनगढीः आइतबार साँझदेखि सुरु भएको अविरल वर्षाका कारण बाढीपहिरो जाँदा डोटीमा १२ जनाले ज्यान गुमाएका छन्। हालसम्मको तथ्यांक अनुसार प्रहरीको तथ्यांक अनुसार डोटीको जोरायल गाउँपालिका–४ सयगडामा एकै घरका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४२ वर्षीय शेरबहादुर विक, उनका छोरा मोहन विक र छोरी पबित्रा विक रहेका छन्। सोही घरमा मामाघर आएका १६ वर्षीय रविन बिकको पनि मृत्यु भएको थियो। यस्तै जोरायलकै वडा नम्बर ४ नवलपुर बस्ने जोगी सार्कीको घरमाथिबाट पहिरो खस्दा सार्कीसहित उनकी ६१ वर्षीया श्रीमती झुपरी सार्कीको पनि उपचारका क्रममा मंगलबार राति मृत्यु भएको छ।

यस्तै शिखर नगरपालिका वडा नम्बर ११ मा ३६ वर्षीया मन्धरा बलायरको मृत्यु भएको छ। गोपघाट बजारबाट घर जाने क्रममा माथिबाट पहिरोसँगै आएको ढुङ्गा टाउकोमा लाग्दा घाइते भएकी उनको सुजङ अस्पताल राजपुर डोटीमा उपचारका क्रममा मृत्यु भएको हो। सोमबार राति जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर दुई जना मृत्यु भएको इलाका प्रहरी कार्यालय डोटीले जनाएको छ। मृत्यु हुनेहरुमा बिरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडा रहेको प्रहरीले जनाएको छ।

यस्तै सायल गाउँपालिका वडा नम्बर ५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विकको मंगलबार पहिरोमा पुरिएर मृत्यु भएको छ। त्यस्तै मंगलबार छत्रेश्वर खोलाले बगाउँदा बेपत्ता भएका सायल गाउँपालिका १ का ७४ वर्षीय बिरे रोकाया मृत फेला परेका छन्। उनी घरदेखि १०० मिटर तल फेला परेको बताइएको छ।
यसैगरी पहिरोमा परी बोगटान फुड्सिल गाउँपालिका–५ उपल्लागाउँमा ईन्द्रबहादुर नेपालीकी श्रीमती चन्द्रा नेपाली पनि मृत्यु भएको छ। डोटीका बिरबहादुर कुन्जेडा ३३ वर्षीया बासुदेबी कुन्जेडा र ७ वर्षीय बिन्दा कुन्जेडा घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0