बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता


बझाङ: बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्। जिल्लाको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएको शान्ती मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताए। उनका अनुसार बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन्। गगने सार्की रोजगारीका लागि भारतमा छन्। उनका माईला छोरा काले सार्की मात्र शकुसल छन्।

गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाँउका स्थानीय विस्थापित भएका भने ७ घर पुरिएका छन्। तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मावि महेन्द्रधारमा बसिरहेका छन्।

बाढीले सडक अवरुद्ध भएको र सञ्चार सेवा अवरुद्ध हुँदा समयमै खबर नपाएकोले उद्दारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए। लगातार पानी परिरहेको र घटनास्थल निकै टाढा भएकाले पुग्न नसकिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0