बंगलादेशविरुद्ध नेपाली टोलीमा आक्रामक परिवर्तन


बंगलादेशविरुद्ध खेलका लागि आक्रमणमा अन्जन विष्ट, आयुष घलान र नवयुग श्रेष्ठ टोलीमा आएका छन् । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मनिष डाँगी, सुमन अर्याल र सुमन लामालाई पुनस् बेन्चमा नै राखेका छन् ।

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन् । डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुजल श्रेष्ठ खेल्ने सम्भावना छ । मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङलाई रोहित चन्दले साथ दिनेछन् । आक्रमणमा अन्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलान रहेका छन् ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलकै क्रममा रणनीति परिवर्तन गर्ने सम्भावना पनि छ । सुजल श्रेष्ठ प्राकृतिक रुपमा लेफ्ट मिडफिल्डर भएपनि उनले भारतविरुद्ध मैत्रीपूर्ण खेलमा विंगब्याकमा खेलेका थिए । यसकारण नेपालले ३ जना डिफेन्स खेलाएर सुजल र गौतमलाई आक्रमणमा प्रयोग गर्न सक्छ ।

नेपालले यस खेलमा जित हासिल गरे वा बराबरी खेले फाइनलमा प्रवेश गर्नेछ । बंगलादेशले भने फाइनल प्रवेश गर्नका लागि जित हासिल गर्नुपर्ने बाध्यता रहेको छ । आज हुने दोस्रो खेलमा माल्दिभ्स र भारत खेल्नेछन् । उक्त खेलको विजेताले पनि फाइनलमा स्थान बनाउनेछ । बराबरीले भने माल्दिभ्स फाइनलमा पुग्नेछ ।

खेलको प्रत्यक्ष प्रसारण डिसहोमको एक्सन स्पोर्ट्सले गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0