एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा जाँदै


धनगढीः नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जाने तयारी गरेका छन्। केपी शर्मा ओलीले विगतमा माधव समूहमा रहेका नेतालाई पेलेरै पार्टी चलाउन थालेको भन्दै जोशीले एमाले छाड्ने तयारी गरेका हुन्।

‘१० बुँदे सहमति कार्यान्वय हुने अवस्था पनि देखिएन्,‘ एकीकृत समाजवादीमा जाँदै हुनुहुन्छ ? भन्ने दिनेशखबरको प्रश्नमा जोशीले भने, ‘त्यस विषयामा सोच्ने समय आइरहेको छ। तपाइहरु भोलि थाहा पाउनुहुन्छ।’ उनले पार्टी विभाजनपछि नेतृत्व सच्चिने आशा गरिएकोमा त्यस्तो हुन नसकेको बताए।

समाचार स्रोतका अनुसार जोशीले एकीकृत समाजवादीमा रोज्ने लगभग पक्का भइसकेको छ। उनले सुदूरपश्चिममा आफूनिकट कार्यकर्तालाई एकीकृत समाजवादीमा सक्रिय हुन पनि आग्रह गरिसकेका छन्।

नेकपा एमालेमै हुँदा २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका माधवकुमार नेपाल समूहले केन्द्रदेखि देशैभर समानान्तर कमिटी गठन गरेको थियो। उक्त समयमा जोशीलाई सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी दिइएको थियो।

एमालेभित्रको संघर्षका क्रममा साथ दिँदै आएका जोशीले भदौ २ गते एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्ने निर्णयमा भने नेपाललाई साथ दिएनन्। तर, उनले अध्यक्ष नेपाललाई भेटेर आफू एकीकृत समाजवादीमा नै लाग्ने बताएको समाचार स्रोतको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0