चीनबाट ४४ लाख भेरोसेल खोप आइपुग्यो


काठमाडौँ– चीन सरकारसँग खरिद गरेकोमध्ये ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ।
शुक्रबार दिउँसो नेपाल वायु सेवा निगमको वाइडबडी जहाज मार्फत सरकारले चीन सरकारसँग खरिद गरेको ६० लाख डोज खोप मध्ये ४४ लाख डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो।
सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग नन डिस्क्लोजेवल एग्रिमेन्ट गर्दै ६० लाख डोज भेरोसेल खोप खरीद गर्ने सम्झौता गरेको थियो।
सम्झौता अनुसार १६ लाख डोज खोप भदौ ४ र ५ गते नेपाल आइसकेको छ। बाँकी रहेको ४४ लाख डोज शुक्रबार नेपाल पुगेको हो।
शुक्रबार आएको खोपमध्ये बागमती, लुम्बिनी र गण्डकी गरी तीन वटा प्रदेशमा विमानस्थलबाटै खोप वितरण गरिने छ भने बाँकी प्रदेशहरुमा शनिबार वितरण गरिने छ।
शुक्रबार आएको खोप दोस्रो मात्रा लगाउन बाँकीलाई दिने र खोप लगाउन बाँकी भएकाहरुलाई पहिलो मात्रा दिन सुरु गर्ने योजना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सार्बजनिक गरेको भदौ ३१ गतेसम्मको तथ्यांक हेर्ने हो भने हालसम्म देशभर ५४ लाख ७३ हजार १५१ जनाले कोरोना पूर्ण मात्रा खोप लगाइसकेका छन् भने ६० लाख ५७ हजार १९४ जनाले पहिलो डोज खोप लगाएका छन्। यस्तै नेपालले हालसम्म कोभिसिल्ड २४ लाख ४८ हजार, भेरोसेल ७४ लाख, जोन्सन एन्ड जोन्सन १६ लाख, एस्ट्राजेनेका १७ लाख ७७ हजार ३२० मात्रा खोप प्राप्त गरिसकेको छ।