चाडवाड नजिकिए संगै सराेकारवाला निकायद्वारा गरियाे अत्तरियामा छड्के अनुगमन


अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरिया वसपार्कमा सार्वजनिक यातायात सवारी साधनमा अपाङ्गता र जेष्ठनागरिक व्यक्तिका लागि छुट्याइएको सिटको अवस्था बारे  शुक्रबार ( अाज)  छड्के अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा अत्तरिया बसपार्कमा सञ्चालन भइरहेका विभिन्न बस तथा हाईस गाडीहरूमा अपाङ्गता भएका यात्रुका लागि छुट्याइएको सिटको अवस्थावारे अनुगमन गरिएकाे हो । । अनुगमन नेपाल मानब अधिकार अायाेग, यातायात कार्यालय कैलाली, नेपाल प्रहरी, ट्राफिक प्रहरी कार्यालय मालाखेती, ईप्रका मालाखेतीकाे टोलीसहित अन्य सरोकारवालाको समन्वयमा छड्के अनुगमन गरिएको हो ।
अनुगमनमा सहभागी सरोकारवालाहरूले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू र अन्य असक्षम व्यक्तिहरूको सुरक्षा र सुविधा सुनिश्चित गर्न आवश्यक कदम चालिनुपर्नेमा जोड दिएका छन् । साथै सार्वजनिक यातायात व्यवसायीहरूले नियमको पालना गर्दै यात्रुहरूको सहायतामा सक्रिय भूमिका निर्वाह गर्ने व्यवस्था गरिएको छ ।

नियम अनुसार सिट छुट्याइएको नभएको गाडीमा तत्काल सुधार गर्न निर्देशन दिइएको छ । डिआईजी डम्मर बहादुर बिकले भने, “सार्वजनिक यातायात सबैका लागि पहुँचयोग्य हुनुपर्छ । अपाङ्गता भएका व्यक्तिलाई सिट नदिँदा उनीहरूको यात्रा कठिन हुन्छ । हामीले अनुगमनमार्फत सवारी सञ्चालकले नियम पालना गरिरहेको सुनिश्चित गर्ने प्रयास गरेका छौं ।”
यातायात कार्यालय कैलालीका प्रमुख भुवन जोशीले भने, “सवारी साधन सञ्चालकले मात्रै होइन, यात्रुले पनि अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्ने संस्कार विकास गर्नुपर्छ । नियम अनुसार सिट छुट्याउने व्यवस्थाले उनीहरूको यात्रा सहज हुन्छ ।”
राष्ट्रिय मानव अधिकार आयोगका सह–सचिव प्रकाश दत्त भट्टले भने, “सार्वजनिक यातायातमा समान अधिकारको सुनिश्चितता हाम्रो संवैधानिक दायित्व हो । अनुगमनले सञ्चालक र यात्रु दुवैलाई सचेत बनाउनेछ ।”  प्रदेश  ट्राफिक प्रहरी प्रमुख प्रेम बहादुर शाहीले अनुगमन र नियमनको महत्वमा जोड दिए । “अपाङ्गता भएका व्यक्तिको सहायतामा प्रत्यक्ष सहभागी हुनुपर्ने हाम्रो कर्तव्य हो । नियम पालना नगर्ने गाडी सञ्चालकको कानूनी कारबाहीको व्यवस्था गरिएको छ,” उनले भने ।
अनुगमनमा सहभागी अत्तरिया सुप समावेशी विद्यालयका पुर्व शिक्षक मान बहादुर साउद, अत्तरिया उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू र अन्य असक्षम व्यक्तिको सुरक्षा र सुविधा सुनिश्चित गर्न आवश्यक कदम चालिनुपर्नेमा जोड दिए । सार्वजनिक यातायात व्यवसायी र यात्रुले पनि भनाई राख्दै भने, “सामाजिक उत्तरदायित्व निभाउनुपर्छ । अपाङ्गता भएका व्यक्तिलाई सिट छुट्याउने, सहायता गर्ने र सम्मानजनक व्यवहार सुनिश्चित गर्न सबैको योगदान जरुरी छ ।” कार्यक्रम अत्तरिया वसपार्कमा अनाैपचारिक तरिकाले संचालन भएकाे थियाे ।