कैलालीका रामकिसन चौधरी कार्यालय सहयोगी पदबाट राजीनामा दिएर कृषि व्यवसाय तिर


कैलाली: कार्यालय सहयोगीको पदबाट राजीनामा दिएका रामकिसन चौधरीले धनगढीमा लोभलाग्दो कृषि व्यवसाय गर्दैछन्। कैलालीको भजनीका चौधरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा लोभलाग्दो कृषि व्यवसाय गरिरहेका हुन्।

धनगढीको जाइमा सुनाखरी कृषि बहुउद्देश्यीय फर्म दर्ता गरेर कृषि व्यवसायमा लागेका चौधरीले वार्षिक तीन लाख आम्दानी गर्न थालेका हुन्। उनको फर्म कृषि प्राविधिक अध्ययन गर्ने विद्यार्थीका लागि सिकाइ केन्द्रसमेत बनेको छ। भजनी नगरपालिकाको वडा नम्बर ८ मा घर भएका चौधरी २०७५ सम्म एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यालय सहयोगी थिए। कृषि क्षेत्रमा काम गर्ने त्यो संस्थामा जागिर गर्दै कक्षा १२ र त्यसपछि १८ महिने कृषि जेटिए पढेका चौधरी अहिले सफल कृषि उद्यमी भएका छन्।

जेटिएको पढाइ सकेसँगै प्रोजेक्टको काम पनि सकिएपछि चौधरीले धनगढी आएर सुरूमा १६ कट्ठा जग्गा भाडामा लिएर सुनाखरी कृषि उहुउद्देश्यीय फर्म स्थापना गरेका थिए। कृषि पेशामा व्यवसायिक रुपले लाग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कर्मचारीहरुले उनलाई प्रेरणा दिए। कृषि विकास निर्देशनालय र कृषि ज्ञान केन्द्रबाट आर्थिक सहयोग पाएका चौधरीले धनगढीमा ४ विघा जग्गामा तरकारी खेती गर्न थालेका छन्। २०७५ मा ६ लाख लगानीबाट सुरू गरेको व्यवसायमा २० लाखमा पुगेको छ। चौधरीले बारीमा सबै किसिमका तरकारी, तरकारीको बेर्ना, गड्यौला मल तथा जैविक विषादी उत्पादन गर्दै आएको बताए।

‘चार वर्ष अगाडि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको जागिर छोडेर १६ कट्ठाबाट सुरु गरिएको तरकारी खेती अहिले चार विघामा फैलिएको छ,’ उनले भने, ‘अहिले सबै खर्च कटाएर वार्षिक ३ लाखजति बचत हुने गरेको छ।’ व्यवसायिक तरकारी खेतीमा लागेका चौधरीले तीन जना कर्मचारीलाई खान बस्न दिएर जनही मासिक १२ हजार पारिश्रमिक दिएका छन्।

बेर्ना तथा अर्गानिक तरकारी उत्पादन गर्ने चौधरीको सुनाखरी कृषि बहुद्येशीय फर्म सिकाइ केन्द्रसमेत भएको छ। चौधरीको कृषि फर्मामा विभिन्न कलेजबाट कृषि अध्ययन गर्ने विद्यार्थी ओजेटी गर्न आउने गरेका छन्। यो वर्ष ३ समूहमा ९५ जना विद्यार्थीले ओजिटी गरेका छन्। कैलालीको पहलमानपुरबाट ओजेटी गर्न आएका प्रि-डिप्लोमा तहका विद्यार्थी श्रुती हमालले चौधरीको फर्ममा आफूलगायत ९५ जना विद्यार्थीले ओजेटी गरिरहेको बताइन्। ‘हामीहरू ९५ जनाले तीन सिफ्टमा ओजेटी गरिरहेका छौँ,’ उनले भनिन्, ‘यहाँ ब्याड बनाउने, टनेल बनाउने, गड्यौला मल र जैविक विषादी बनाउने काम गरिरहेका छौँ।’

बाह्रै महिना तरकारी तथा बेर्ना उत्पादन गर्ने कृषक चौधरीले सबै खर्च कटाएर वार्षिक तीन लाख बचत गर्दै आएका छन्। एकिकृत शत्रुजीव व्यवस्थापन (आईपिएम) प्रविधिका स्रोत व्यक्तिसमेत रहेका चौधरीले कैलाली र कञ्चनपुरका किसानलाई तालिम दिने काम पनि गर्दछन्। कैलाली र कञ्चनपुरमा बोलाइएको ठाउँमा तालिम दिन जाने गरेको चौधरीले बताए। ‘मैले आइपिएम प्रविधिको तालिम दिने पनि दिने गरेको छु,’ उनले भने, ‘कैलाली र कञ्चनपुरका विभन्न ठाउँमा तालिम दिन जाने गरेको छु।’

रोजगारीको लागि भारत तथा खाडी मुलुक जाने युवालाई चौधरीले गरेको काम तथा सिकेको सीप हस्तान्तरणसमेत गर्ने प्रयास गरेका छन्। यता कृषि ज्ञान केन्द्र कैलाली र कृषि विकास निर्देशनालयले चौधरीलाई स्रोत व्यक्तिको रुपमा आवधिक तालिम दिन बोलाउने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0