आज सुन्दर सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै


अत्तरिया – वर्षा ऋतुको बिदाइ यसको सङ्कट मोचनको खुसीयाली स्वरूप आज सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व मनाइँदै छ । भदौ १ गतेलाई ओल्के सङ्क्रान्तिको उपमा दिएर सुदूरपश्चिममा हर्षोल्लासका साथ यो पर्व मनाइँदै आएको छ । ‘ओल्को’ भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ ।

आफूभन्दा ठुला, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ । यसका साथै बिहानै नुहाई धुवाइ गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात् उपहार दिने पनि गरिन्छ । साथै आज सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पिङ खेल्ने प्रचलन पनि रहेको छ ।

आज छोरी बेटीहरू माइत आउने, उनीहरूलाई दान दिने र विशेष परिकार बनाएर खुवाउने र त्यसमा सुदूरपश्चिमको विशेष परिकार ‘गतानी डुब्का’ खुवाउने प्रचलन रहेको उनले बताए । यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रूपमा पनि रहिआएको छ भने यसलाई सिंह सङ्क्रान्ति पनि भन्ने गरिएको छ ।

यो पर्व नेपालको सुदूरपश्चिमका साथै भारतको कुमाउँ गढवालतिर पनि मनाइन्छ । यस्तै ओल्के सङ्क्रान्तिका दिन गाउँ उच्चो टाकुरामा सबै मिलेर रूखका हाँगाबिँगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भन्ने गरिएको छ ।

यो बूढीलाई असोज सङ्क्रान्तिका साँझ प्रत्येक घरघरबाट आगोको राँको एकै पटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको छ । यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग पनि जोडिएको छ ।

भगवान् कृष्णलाई पुतना राक्षसनीले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवान्ले पुतना राक्षसनीको स्तन चुसेर मारेपछि पुतनाको भयानक रूप पैदा भएको तथा मरेको शवलाई हटाउन नसकेपछि गोकुलवासी ग्वालाहरूले टुक्रा–टुक्रा पारेको दिनको सम्झनामा आज बूढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको छ । ओल्के पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले विदा समेत दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0