गृहजिल्लामै कमजोर भीम रावल, गठबन्धन भए एमाले संकटमा


नेकपा– एमालेका नेता भीम रावल आफ्नो अभिव्यक्तिका कारण चर्चामा आइरहने नेता हुन् । एमालेभित्र अध्यक्ष ओलीको कट्टर विरोधीका रुपमा छवि बनाएका उनी अछामबाट संघीय संसदमा प्रतिनिधित्व गर्छन् ।

एमाले दशौं महाधिवेशनमा रावल अध्यक्षमा केपी ओलीसँग प्रतिस्प्रर्धा गरेका थिए । कुनै न कुनै रुपमा सञ्चारमाध्यममा चर्चामा रहने रावलको जिल्लामा एमालेको अवस्था कस्तो छ रु अछाममा १० वटा स्थानीय तह छन् । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकिएको छ । यस्तोमा ०७४ सालको स्थानीय तह निर्वाचनमा अछाममा एमालेको अवस्था कस्तो थियो, यस्तो छ तथ्यांक ।

कमलबजारमा कांग्रेस–एमाले हाराहारी
कमलबजार नगरपालिकामा कांग्रेस–एमालेको हाराहारी प्रभाव देखिन्छ । ०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका ओमप्रकाश विष्ट ३५ सय ८७ मत ल्याएर विजयी भए । उनका प्रतिद्धन्द्धी एमाले उमेदवार दिपकप्रकाश अधिकारीले ३२ सय ७७ मत ल्याए ।

उपमेयर पनि कांग्रेसले नै जित्यो । कमलबजार नगरपालिकामामा माओवादीको प्रभाव सामान्य देखियो । माओवादी मेयरका उमेदवारले ४९१ मत ल्याए ।

चौरपाटीमा एमाले–कांग्रेस कडा टक्कर
अछामको चौरपाटी गाउँपालिकामा कांग्रेस र एमालेबीच कडा टक्कर देखिन्छ । ०७४ को निर्वाचनमा यो गाँउपालिकामा एमाले उमेदवार हर्कबहादुर साउद १ मतले विजयी भएका थिए । उनले ३१ सय ३७ मत ल्याउँदा कांग्रेसका भीमबहादुर साउँदले ३१ सय ३६ मत प्राप्त गरे । माओवादीका रामबहादुर थापाले १२ सय ६८ मत ल्याएका थिए ।

ढकारीमा कांग्रेसकै अग्रता
ढकारी गाउँपालिकामा कांग्रेसले जित निकाले पनि एमाले खासै पछाडि देखिँदैन । कांग्रेसका धनबहादुर बुढाले ३४ सय ५४ मत ल्याएर जित निकाल्दा एमालेको नवराज साउदले २९ सय ३० मत प्राप्त गरे । माओवादीका तुलाराम साउदले ६४८ मत ल्याए । अहिलेकै अवस्थामा कांग्रेस–माओवादी मिल्दा एमालेलाई गाह्रो हुने देखिन्छ ।

तुर्माखादमा पनि कांग्रेस अगाडि
तुर्माखाद गाउँपालिकामा पनि कांग्रेसकै पकड देखिन्छ । अन्य पालिकाभन्दा यहाँ माओवादी केन्द्रको पनि प्रभाव देखिन्छ ।

कांग्रेसका पुष्पराज शर्मा ३६ सय ९१ मत ल्याएर विजयी भएका थिए भने एमालेका पदमबहादुर बुढाले ३ हजार ३७ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका उदयबहादुर विष्टले १५ सय ५६ मत पाएका थिए । आगामी निर्वाचनमा सत्तारुढ दलको गठबन्धन हुँदा एमाले कमजोर हुने विगतको तथ्यांकले देखाउँछ ।

पञ्चदेवलमा त्रिपक्षीय भिडन्त
पञ्चदेवल नगरपालिकामा कांग्रेसका देवराज देवकोटाले ३५ सय ५५ मत ल्याएर प्रमुखमा जित निकाले पनि एमाले र माओवादीको प्रभाव पनि बलियो देखिन्छ । ०७४ को निर्वाचनमा एमालेका नन्दबहादुर कडायतले ३ हजार ७५ मत ल्याउँदा माओवादी केन्द्रका अक्कल बहादुर रावलले २३ सय ९१ मत ल्याए । सत्तारुढ दलको गठबन्धन बने एमालेलाई यो पालिकामा सहज हुने देखिँदैन ।

बान्नीगढीमा पनि एमाले दोस्रो स्थानमै
बान्नीगढी जयगड गाउँपालिकामा पनि कांग्रेसका राजेन्द्रबहादुर खड्का २७ सय ९३ मत ल्याएर विजयी भए । एमालेका उमेदवारले २३ सय १९ मत प्राप्त गरे । उपमेयरमा भने माओवादीका लोकबहादुर साउद २४ सय ३६ मत ल्याएर विजयी भए ।

मंगलसेनमा कांग्रेस–एमाले आमनेसामने
अछामको पुरानो नगरपालिका हो मंगलसेन नगरपालिका । यो पालिकामा एमाले–कांग्रेस हाराहारीमा देखिन्छन् । ०७४को स्थानीय तह निर्वाचनमा ४६ सय ९१ मत ल्याएर एमालेका पदमबहादुर बोहरा विजयी भएका थिए । कांग्रेसका चन्द्रप्रकाश ढुङ्गानाले ४५ सय ५३ मत प्राप्त गरेका थिए ।

मल्लेखमा माओवादीको प्रभाव
अन्य पालिकाभन्दा मल्लेख गाउँपालिकामा माओवादी केन्द्रको प्रभाव देखिन्छ । यो पालिकामा ४५ सय ८ मत ल्याएर माओवादी केन्द्रका लोकबहादुर बोहरा विजयी भएका थिए । एमालेका उमेदवार डम्मर नेपालीले ३९ सय ९२ मत ल्याए । उपप्रमुखमा ४४ सय ८ मत ल्याएर कांग्रेस उमेदवार विजयी भए ।

रामारोशन गाउँपालिकामा पनि माओवादीकै प्रभाव
रामारोशन गाउँपालिकामा पनि माओवादीकै प्रभाव देखिन्छ । माओवादीका ३४ सय २ मत ल्याएर अध्यक्षमा विजयी हुँदा एमालेका चक्रबहादुर रावलले २७ सय ३४ मत पाए । कांग्रेसकी अनुराधा स्वारले २५ सय ४७ मत प्राप्त गरिन् । यो पालिकामा पनि सत्तारुढ दलहरु मिले एमालेलाई प्रतिस्पर्धा कठिन हुने देखिन्छ ।

साफेबगरमा कांग्रेस–एमाले हाराहारीमा
साफेबगर नगरपालिकामा कांग्रेस–एमालेको प्रभाव बराबरीकै देखिन्छ । ०७४ को निर्वाचनमा एमालेका कुलबहादुर कुँवर ५८ सय ३८ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका ध्वजबहादुर कुवँरले ५४ सय १२ मत प्राप्त गर्दा माओवादी उमेदवारले ५ सय ६३ मत ल्याए ।

१० पालिका रहेको अछाममा एमाले–कांग्रेसकै प्रतिस्प्रर्धा हुने देखिन्छ । तर, नेकपा एमाले विभाजन भएकाले आगामी निर्वाचनको मतपरिणाममा त्यसले असर पार्ने पनि देखिन्छ । अछाममा सत्ता गठबन्धन मिलेर चुनावमा गए एमालेलाई संकट पर्ने देखिन्छ । बाह्रखरीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0